
आर्थिक वर्ष २०७९।८० मा सिन्धुपाल्चोक जिल्लामा भएका विकास निर्माणसम्बन्धी कार्यक्रमहरुको
वार्षिक समिक्षा कार्यक्रम २०८०
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ९२ ले जिल्लाका विकासनिर्माणसम्बन्धी कार्यक्रमहरुको वार्षिक समिक्षा गर्नका लागि जिल्ला समन्वय समितिलार्इ तोकेको जिम्मेवारीअनुसार सिन्धुपाल्चोक जिल्लाको आर्थिक वर्ष २०७९।८० को वार्षिक समिक्षा कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठज्यूको अध्यक्षता र माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतज्यूको प्रमुख आतिथ्यतामा मिति २०८० भाद्र ७ गते सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतको उपस्थिति रहेको थियो भने विशेष अतिथिका रुपमा वागमती प्रदेशका वन तथा वातावरण मन्त्री माननीय मसिना खड्का र वागमति प्रदेश सभाका सदस्य माननीय कृष्णकुमार तामाङसमेतको उपस्थिति रहेको थियो ।
त्यसैगरी जिल्लाबाट प्रमुख जिल्ला अधिकारी, प्रमुख कोष तथा लेखा नियन्त्रक, यस जिल्लाका १२ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृत तथा विकासनिर्माण सम्बन्धी संघ तथा प्रदेश कार्यालयका कार्यालय प्रमुखहरुको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा यस जिल्लाका १२ वटै स्थानीय तह तथा विकासनिर्माणसम्बन्धी कामकाज गर्ने ८ वटा प्रदेश कार्यालयहरुको प्रगतिको प्रस्तुतिकरण रहेको थियो।प्रस्तुतिकरणमा आआफ्नो कार्यालयबाट गरिएका मुख्यमुख्य कार्यक्रमहरुको प्रगति र कार्यान्वयन अवस्था तथा प्रदेश तथा संघीय सरकारसमक्ष राख्नुपर्ने समस्या र समाधानका उपायहरुसहित प्रकाश पारिएको थियो भने माननीय मन्त्रीज्यूले हाल आफुले सम्हालेको स्वास्थ्य तथा जनसंख्या क्षेत्रको आमुल परिवर्तनका लागि आफु खटिरहेको कुरा प्रकाश पार्दै र जिल्लाको समग्र विकासमा सबै पक्ष र सरोकारवालाहरुको महत्वपुर्ण भूमिकाका सम्बन्धमा सम्बोधन गर्नुभएको थियो ।