सिन्धुपाल्चोक जिल्लाको आ.व. २०७८/७९ को वार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले व्यवस्था गरेबमोजिम जिल्ला समन्वय समितिको कार्यालय, सिन्धुपाल्चोकको आयोजनामा मिति २०७९ भाद्र ७ गते जिल्लाभित्रका १२ वटै स्थानीय तह र ७ वटा संघीय तथा प्रदेश सरकारका विकास निर्माणसम्बन्धी आयोजना तथा कार्यक्रमहरुको प्रगतिको वार्षिक समिक्षा गरिएको हो ।
कार्यक्रममा यस जिल्लाबाट प्रतिनिधित्व गर्ने संघीय तथा प्रदेश संसद सदस्यहरुलाइ आमन्त्रण गरिएकोमा प्रदेश सभा सदस्य तथा वागमती प्रदेश सरकारका कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री माननीय इन्द्रमाया गुरुङ र प्रदेश सभा सदस्य माननीय सरेश नेपालको उपस्थिति रहेको थियो ।
जिल्ला समन्वय समिति प्रमुख बालकृष्ण श्रेष्ठको अध्यक्षता र प्रदेश सभा सदस्य तथा वागमती प्रदेश सरकारका कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री माननीय इन्द्रमाया गुरुङको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रममा सबै स्थानीय तह र संघीय तथा प्रदेश कार्यालयको प्रस्तुतिकरण रहेको थियो । सो प्रस्तुतीकरण र जिल्लाका विकासनिर्माणका सवालहरुमा माननीयज्यूहरु र प्रमुख जिल्ला अधिकारीबाट समेत सुझाव सल्लाह प्राप्त भएको थियो ।