भौगोलिक परिचयः
सदरमुकाम चौताराबाट करिब ९ किमि पूर्व-उत्तरमा रहेको यो गाविस पश्चिम पानीढलॊ छ। यो गाविसले सिन्धुपाल्चोकको कुल क्षेत्रफलको १.७८ प्रतिशत र नेपालको कूल भूभागको ०.०३ प्रतिशत भूभाग ओगटेको छ। यो गाविस भौगोलिक दृष्टिकोणले पूर्वी देशानतर ८५ डिग्री ४५ मिनेटदेखि ८५ डिग्री ५१ मिनेटसम्म र उत्तरी अक्षांस २७ डिग्री ४६ मिनेटदेखि २७ डिग्री ४९ मिनेटको वीचमा रहेको छ। समुद्री सतह ७०० मिटर नौविसेदेखि करिब २५०० मिटर नागीचौरसम्म फैलिएको यो गाविसको अधिकतम तापक्रम ३७ डिग्रीसम्म र न्यूनतम तामक्रम ० डिग्रीसम्म रहेको पाइन्छ। लेकमा भारी बर्षा हुने भएपनि मध्यभाग र बेसीमा यहाँ मझौला बर्षा हुन्छ ।
नामाकरणः
फुल्पिङ्कोटको नामाकरण सम्बन्धमा हालसम्म यकिन तथ्य फेला नपरेपनि विभिन्न किंबदन्ती रहेका छन्। फुल, पिङ र कोट तीनवटा शब्द मिलेर बर्तमान नाम बनेको छ । विक्रम संवत २०५२ सालमा कवि चन्द्रप्रसाद न्यौपानेले तयार पार्नुभएको फुलपिङकोट एक परिचय नामक पुस्तकमा यस गाविसको नामाकरण सम्वनधमा खोजी गरिएको छ । पुस्तकको पृष्ट सातमा इतिहास खण्डमा लेखिए अनुसार फुल्पिङकोट नामाकरण रहनुमा एउटा ऐतिहासिक किंबदन्ती रहेको छ। लिम्बू किराँतीबाट जन्मिएको फुङ शब्दबाट यसको नाम पहिले फुङ्का रह्यो । फुङका फुक को अर्थ किराँती भाषामा बसोबास गर्ने गुफा वा ठाउँ हो । पछि फुङका फुक बाट फुल्पिङ् वनयो । यहाँ विक्रमको १४-१६०० ताका हातहतियार थन्क्याउने कोत वनाइएको थियो । फुल्पिङ्मा कोत घर वनाइएपछि त्यसलाई फुल्पिङ्कोत भन्न थालियो र कालन्तरमा शब्द अपभ्रंस भएर फुल्पिङकोट बन्न पुग्यो । वि.सं २०१७ साल अघि फुल्पिङकोट फुल्पिङ् मौजाभित्र रहेको थियो। यसरी हेर्दा ऐतिहासिक पक्ष र कोत जोडिएर नामाकरण भएको पाइन्छ। हाल पनि यहाँ कोत पूजा गर्ने चलन छ। २०३८ सालमा आएर फुल्पिङकोट जलविरेकोटबाट स्वतन्त्र भएको हो ।