गुम्बा गाविस क्षेत्रफलको दृष्टिले जिल्लाकै सबैभन्दा ठूलो गाविस हो । जिल्ला सदरमुकामबाट ९ कोष टाढा पर्ने यस गविसको कुल क्षेत्रफल ३१२.४५ वर्ग किलोमिटर छ। गुम्बा गाविसको पूर्वमा तातोपानी लिस्तीकोट पश्चिममा गोल्चे उत्तरमा तिब्बत र दक्षिणमा पाङताङ गाविस पर्दछ। आकारमा यो गाविस ठूलो तथा लाम्चो देखिन्छ।लिस्ती थुम अन्तर्गत पर्ने गुम्बा गाविसमा तामाङ तथा शेर्पा जातिहरु बसोबास छ। वर्षभरी नै चिसो हावापानी पाइने यस गाविसको प्रमुख कृषि बाली आलु तथा फापर हो। काठमाडौंबाट नजिकै पर्ने ६७९९ मिटर अग्लो जुगल हिमाल यसै गाविसमा पर्दछ। हिमाली दृश्यावलोकनका लागि गुम्बा गाविस उपयुक्त मानिन्छ ।गुम्बा गाविसमा ग्रामीण उर्जा विकासका लागि तापगाउँ पेल्ट्रिक सेट परियोजनाको विकास गरिएको छ। वि.सं. २०५८ सालको जनगणना अनुसार गुम्बा गाविसमा ६५१ घरपरिवार मध्ये कुल जनसंख्या ३३४८ थियो। जिल्लामा नै कम जनघनत्व भएको गुम्बा गाविस साँस्कृतिक दृष्टिले पनि निकै नै धनी छ।